Sunday, April 27, 2014

सुरुङमा हराएकाको शव भेटियो

सिल्दजुरे (कास्की)- निर्माणाधीन माथिल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा हराएका २ मजदुरको शव भेटिएको छ। उदयपुरको चौदण्डी घर भइ आयोजनाको सुरुङ खन्ने मजदुरी गरिरहेका अर्जुन तामाङ र नरेन्द्र तामाङको आइतबार शव भेटिएको कास्कीका प्रहरी नायब उपरीक्षक राजेशनाथ बास्तोलाले जनाए। शुक्रबार दिउँसो खसेको पहिरोले सुरुङको केही भाग भत्काएपछि उनीहरु पुरिएका थिए।
तामाङहरुसँगै पुरिएका तनहुँ दुलेगौडाका सुजन गुरुङको शव भने शनिबारै फेला परेको थियो। शुक्रबार सुरुङभित्र १६ जना हराएकोमा १३ जनाको शनिबार बिहान सकुशल उद्धार भएको थियो। उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरी घर फर्काइसकिएको छ।
गुरुङ र तामाङहरुसहित एउटा एक्साभेटर पनि पुरिएको थियो। एक्साभेटर र गुरुङ शनिबारै भेटिए पनि तामाङहरुलाई आइतबार भेटिएको हो। उनीहरु तीनजना रहेको सुरुङको भाग माथि पहिरो खसेकाले पुरिएका थिए। अरु १३ जना भने सुरुङको १३० मिटर टाढाको भागमा रहेकाले बाँच्न सफल भएका थिए। उनीहरुलाई १५ घन्टापछि उद्धार गर्न सकिएको थियो।
मृतक तामाङका आफन्तहरु क्षतिपूर्तिको माग गर्दै उदयपुरदेखि आयोजना निर्माणस्थलमै आइपुगेका छन्। उनीहरुले प्रतिव्यक्ति १७ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन्। यसबारे आयोजना व्यवस्थापन र मृतकका बाबुहरुसहितका आफन्तसित अहिले वार्ता चलिरहेको छ। यसअघि आयोजना निर्माणकै क्रममा मृत्यु भएका एकजनाको परिवारलाई १७ लाख रुपैयाँ दिएकाले त्यसैअनुसार हुनुपर्ने उनीहरुको माग हो। तर आयोजना व्यवस्थापनले भने मजदुरको १० लाख रुपैयाँको मात्रै बिमा गरिएकाले त्यति नै दिनसक्ने जनाएको छ।
- See more at: http://www.nagariknews.com/main-story/story/17159#sthash.RAvekUMR.dpuf

No comments:

Post a Comment