Sunday, April 27, 2014

बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी
लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको बताउँछन्।
श्रेष्ठ बाख्रा फर्मको नाममा व्यवसाय गरिरहेका उनको फार्ममा अहिले स्थानीय खरी जातका ९० वटा बाख्रा छन्। २० लाख रुपैयाँको लागतमा सुधारिएको खोर, बस्ने घरलगायतका संरचना निर्माण गरी ३ लाख रुपैयाँभन्दा बढीको बाख्रा किनेर व्यवसाय थालेको उनले जानकारी दिए।

उनले एउटा कोठामा १० बाख्रा अट्ने १० कोठे ठूलो खोर निर्माण गरेका छन्। खोरमा तापक्रमदेखि उज्यालोका लागि बत्तीसम्मको व्यवस्था छ। श्रेष्ठले बाख्रालाई ख्वाउन २७ रोपनी जग्गामा घाँस रोपेका छन्। डालेघाँसमा किम्बु, स्टाइलो, नेपियर र मौसमी घाँस लगाइएको उनले बताए। बाख्रालाई दैनिक घाँस, कुँडोबाहेक हरेक तीन महिनामा औषधी ख्वाउनु पर्छ।

गत साउनमा ३२ वटा बाख्राबाट व्यवसाय सुरु गरेका श्रेष्ठको खोरमा अहिले किनेर थपिएका र त्यही खोरमा जन्मेका गरी ९० वटा बाख्रा छन्। बाख्रा बिक्रीबाट उनले १ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका छन्। इजरायलमा हुने मासिक १ लाख रुपैयाँभन्दा यहाँको आम्दानी कम भए पनि आफू सन्तुष्ट रहेको श्रेष्ठले बताए। व्यवासायबाट नोक्सानी नहुनेमा उनी ढुक्क छन्।

‘गाउँमै केही गरेर देखाउन सकिन्छ कि भनेर लाग्दैछु,' उनी भन्छन्, ‘अहिले नै घाटा नलागे मलाई सन्तोष हुन्छ।' बेरोजगार भएर गाउँमा बसेका र काम गर्न लाज मान्ने युवाका लागि उदाहरण बनेका उनी विदेशमा आफूले धेरै सिकेको बताउँछन्। बाख्रापलनमा उनले बाबु, आमा र श्रीमतीबाट राम्रो सहयोग पाएका छन्।

उनको दिनचर्या बाख्राको स्याहारबाट सुरु हुन्छ। घाँस, कुँडो खुवाउने, खोर सफा गर्ने, घाँसको जोहो गर्ने र दिउँसो बाख्रा चराउने गरेर दिन बित्छ। घाँस काट्न, घाँस, दाना र चोकरको भारी बोक्न लाज नलाग्ने उनी बताउँछन्। ‘नेपालीको छोराले केसम्म गर्नुपर्दो रै'छ भन्ने विदेशमा भोगेँ, गाउँघरमा काम गर्दा मलाई आनन्द लागेको छ,' उनले सुनाए। फर्मका बाख्रा सबै स्थानीय जातको भएको र बिक्री पनि स्थानीय उपभोक्तालाई नै गर्ने उनले बताए।

उनले बाख्रापालन सुरु गर्नुअघि तनहुँको बन्दीपुरस्थित बाख्रा फार्म अवलोकन गरी परामर्श लिएका थिए। उनको फार्ममा स्थानीय र छिमेकी जिल्लाका इच्छुक हेर्न र बुझ्न आउने गरेका छन्। आफूकहाँ आउनेलाई जानेसम्मको सल्लाह दिने गरेको श्रेष्ठले बताए।

व्यवसायमा जिल्ला पशुसेवा कार्यालयबाट ५० हजार रुपैयाँ अनुदान प्राप्त भएको राजेन्द्रका बुबा बाबुलाल श्रेष्ठ बताए। च्वाइस नेपाल, हेफर इन्टरनेसनल नामक संस्थाहरुले पनि फार्म अवलोकन गरेको र सहयोगको बचन पाएको पनि श्रेष्ठले बताए।
- See more at: http://www.nagariknews.com/economy/agriculture/story/16931#sthash.GcUoitV1.dpuf

No comments:

Post a Comment